आजपाको बारा जिल्ला कमिटी पुनर्गठन

आजपाको बारा जिल्ला कमिटी पुनर्गठन

मनोज  शाह, जीतपुर बारा, चैत्र २८ गते

आम जनता पार्टीले बारा जिल्लाअन्तर्गतको जिल्ला कमिटीलाई पुनर्गठन गरेको छ । आज पुनर्गठन भएको आम जनता पार्टीको नयाँ बारा जिल्ला कमिटीमा ७९ जनालाई समेटिएको छ । आजपाले श्री काजी मोक्तानलाई बारा जिल्ला इन्चार्जको रुपमा विशेष जिम्मेवारी दिएको छ भने आम जनता पार्टीको पुनर्गठित बारा जिल्ला कमिटीको अध्यक्षमा राजकिशोर साह चयन भएका छन् । यसैगरी वसन्त चौधरी तथा प्रदीप साहलाई उपाध्यक्षको रुपमा चयन गरिएको छ । रुप बहादुर पाख्रीनले सचिवको जिम्मेवारी पाएका छन् भने सनी गुप्ता, मानन्धर यादव, राकेश बैठा सहसचिवमा चयन भएका छन् ।

आजपाको बारा जिल्ला कमिटीको कोषाध्यक्षमा रेणु चौधरीले जिम्मा पाएकी छिन् भने सबैजना गरी जम्मा ७९ सदस्यीय बारा जिल्ला कमिटीको गठन भएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा

वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा

स्पर्श खबर जितपुर बारा चैत २८ गते:

आर पोखरेल , काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

सबै मतभेद हटाएर एक ढिक्का भई चुनौतीको सामना गरौं : सभापति देउवा

सबै मतभेद हटाएर एक ढिक्का भई चुनौतीको सामना गरौं : सभापति देउवा

स्पर्श खबर जितपुर बारा चैत २८ गते:

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन्।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे।

नेपाली काँग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउँदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे।  सभार लाेकपति ।नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठ्यारो पार्ने काम नगर्न उनले निर्देशन दिए।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाए। सो अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गरेका थिए।

 

रोजा आज सकिने, भोलि इदउलफित्र

रोजा आज सकिने, भोलि  इदउलफित्र

स्पर्श खबर जितपुर बारा चैत २८ गते:

इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन्।

केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन्।नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन्। यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्। रासस

 

सुनको मूल्य  उच्च, चाँदीको स्थिर

सुनको मूल्य  उच्च, चाँदीको स्थिर

 

मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन।

स्पर्श खबर जितपुर बारा चैत २७ गते:

 मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार पनि सामान्य बढ्दा हालसम्मकै उच्च कायम भएको हो।

प्रतितोला एकसय रूपैयाँले बढेर तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रूपैयाँ कायम छ।

आइतबार एकैदिन प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको सुन सोमबार पनि प्रतितोला ६ सय रूपैयाँले महँगिएर हालसम्मकै उच्च प्रतितोला एक लाख ३६ हजार दुईसय रूपैयाँ कायम थियो।

पछिल्लो समय लगातार बढिरहेको चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यो साता आइतबार प्रतितोला ५५ रूपैयाँले बढेको चाँदी सोमबार प्रतितोला १५ रूपैयाँले महँगिएको थियो।

सहयोगी हात नेपालद्वारा पम्प्लेटको माध्यमबाट जनचेतना जगाउने कार्य सम्पन्न

सहयोगी हात नेपालद्वारा पम्प्लेटको माध्यमबाट जनचेतना जगाउने कार्य सम्पन्न

मनोज  शाह, जीतपुर बारा, चैत्र २६


सामाजिक कार्यहरुमा पूर्ण रुपले सक्रिय रहेको सहयोगी हात नेपाल नामक संस्थाले आज बिहान जीतपुर तथा वरिपरिका ठाउँहरुमा जनचेतनामूलक सन्देश प्रदान गर्ने खालको पम्प्लेटहरु टाँसेको छ । समाजमा जाँडरक्सी, चुरोट, लागुपदार्थ आदि सेवन गर्ने कुप्रवृत्ति बढ्दै गएकोले यसलाई कम गरी सभ्य समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको सहयोगी हात नेपालका अध्यक्ष देवानन साहले जानकारी दिनुभयो ।


धूम्रपान, मद्यपान, जुवातास तथा लागुपदार्थ दुर्व्यसनको कारण धनजनको क्षति हुनुको साथै मानव स्वास्थ्यमा पनि ठूलो प्रभाव पर्ने भएकोले यसबारे सानो प्रयासबाट भएपनि जनचेतना जागृत गर्ने उद्देश्यले सन्देशमूलक पम्प्लेटको सहायता लिइएको सहयोगी हात नेपालका सदस्यसमेत रहेका ओमप्रकाश यादवले स्पर्श खबरलाई बताएका छन् ।


सहयोगी हात नेपालका सदस्यहरु चन्देश्वर पासवान, परवेज पासवान, मुर्तुजा अंसारी, मुकेश पासवान, मनोज पासवान, जीतपुर युवा क्लबका अध्यक्ष भुनेश पासवानलगायतको सहयोगमा पम्प्लेट टाँस्ने र सर्वसाधारणलाई मौखिकरुपमा सचेत पार्ने कार्य गरिएको अध्यक्ष देवानन साहले जानकारी दिनुभयो ।

बिमावापतको रकममा अनियमितता भएको भन्दै छानविन गर्न अमलेखगञ्जका ढुवानी व्यवसायीको माग

बिमावापतको रकममा अनियमितता भएको भन्दै छानविन गर्न अमलेखगञ्जका ढुवानी व्यवसायीको माग

मनाेज शाह जितपुर बारा चैत २६ गते:

 आम ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । संस्थाले आन्तरिक ढुवानी बिमावापतको रकममा अनियमितता र छानविनको माग गर्दै ढुवानी व्यवसायी तथा स्थानीयले तालाबन्दी गरेका हुन् ।

वि.सं २०६८ सालदेखि आन्तरिक ढुवानी बिमा बापत संकलन गरेको रकम काजको चिर्कटोमा उठाउने, उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखा परीक्ष्ण गर्दा बेरुजु देखिने, मूल्य अभिवृद्धि कर र अन्य कर समेत हिनामिना गरेको आरोप छानविन गर्न माग गर्दै ढुवानी व्यवसायीले विज्ञप्तिसमेत प्रकाशित गरेका छन् । उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ को कार्यालय तथा नेपाल आयल निगम, मधेस प्रदेशको कार्यालय अमलेखगञ्जलाई समेत बोदार्थ दिएका छन् ।
ढुवानी व्यवसायीले तालाबन्दी गरेको केही समयमै प्रहरीले तालाबन्दी तोडेको थियो । ढुवानी व्यवसायीले भने अनियमितताको छानबिन गरी सत्यतथ्य बाहिर नआएसम्म चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी

एमालेको ११औं जिल्ला अधिवेशनमा बाराको जिल्ला अध्यक्ष पदमा अध्यानन्द पाण्डे विजयी

मनाेज शाह जितपुर बारा चैत २५ गते:

नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी भएका छन । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन ।

अध्यक्षमा पाण्डेले ३ सय ७७ मत पाउँदा सुवेदीले ३४३ मत ल्याउन सफल भईन । नेकपा एमाले बाराको कुल ८३३ मतदाता रहेकोमा अधिबेशनमा कुल ७२० जनाले मतदान गरेका थिए ।

निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिव अध्यानन्द पाण्डेबीच नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।

सुबेदी प्यानलबाट उपाध्यक्ष, सचिब, उपसचिब र महिला उपसचिब बिजयी भएका छन । पाण्डे समुहका उपाध्यक्ष नारायण गौतमले ३४० मत ल्याउदा सुबेदी प्यानलका भुलन चौधरीले ३६४ मत ल्याई बिजयी भए ।

त्यसैगरी सचिव पदमा सुवेदी प्यानलका अमृत शर्मा बजगांई बिजयी भएका छन । बजगाईले ३६३ मत ल्याउदा प्रतिस्पर्धी म.समिउल्लाहले ३२६ मत ल्याउन सफल भए ।

त्यसैगरी उपसचिव खुल्लामा सुबेदी प्यानलकै जवाहिर अन्सारी बिजयी भएका छन । अन्सारीले ३५७ मत ल्याउदा अर्का प्रतिस्पर्धी धनिराम चौधरीले ३४१ मत ल्याउन सफल भए ।

पदाधिकारी तर्फ महिला उपसचिव भावना आचार्य बिजयी भएकी छिन । आचार्यले ३६८ मत ल्याउदा प्रतिस्पर्धी कमला घिमिरेले ३२५ मत प्राप्त गरिन । सदस्यहरुको मत गणना गर्न बाँकी रहेको छ । सदस्यहरुको मत गणना सोमबार बिहानदेखि गरिनेछ ।

चैत्र १९ गते देखि शुरु भएको ११ औ बारा जिल्ला अधिबेशनमा पटक पटक सहमतिको प्रयास गर्न खोजेपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

मिर्जापुरका प्रहरी जवानको बारा अमलेखगञ्जमा बसको ठक्करबाट मृत्यु ।

मिर्जापुरका प्रहरी जवानको बारा अमलेखगञ्जमा बसको ठक्करबाट मृत्यु ।
स्पर्श खबर जितपुर बारा चैत २४ गते:  पर्सा जिल्ला छिपहरमाइ गाउपालिका मिर्जापुर निवासी ट्राफिक प्रहरी जवान मुनटुन यादवको बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीको क्रममा बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति सवा ११ बजे अमलेखगञ्ज चोकमा डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।
प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको न्योपानेले बताए ।
फोटो- सामाजिक संजाल

पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने

 जनता समाजबादी पार्टीको  महाधिवेशन तोकिएकै समयमा  हुने

स्पर्श खबर जितपुर बारा चैत २५ गते:

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताउनु भएको छ ।

‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेततापूर्वक महाधिवेशनको कार्यतालिका बनाएको छ । त्यस कार्यतालिकाअनुरुप कामहरु भइरहेका छन् । सङ्गठित पार्टी सदस्यताको विवरण जाँचबुझ गर्ने, महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार पार्ने काम भइरहेको छ ।’ बस्नेतले बताउनुभयो ।

त्यस्तै महाधिवेशनको लागि प्रचार प्रसार गर्नेदेखि महाधिवेशनमा बोलाउने पाहुनालाई निम्तो गर्ने कामसमेत गर्न थालिएको बस्नेतले जानकारी दिनुभयो ।

जसपाले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म मधेश प्रदेशको धनुषामा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।