पूर्वमुख्यमन्त्री सोनलद्वारा चौतारा उद्घाटन, हनुमान मन्दिरको शिलान्यास

पूर्वमुख्यमन्त्री सोनलद्वारा चौतारा उद्घाटन, हनुमान मन्दिरको शिलान्यास

स्पर्श खबर जितपुर बारा मंसिर १ गते:

बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१ खेखरिया टोलमा स्वर्गीय आशा देवी र अजय स्वर्णकारको स्मृतिमा निर्माण गरिएको चौताराको उद्घाटन तथा हनुमान मन्दिरको शिलान्यास पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले गरेका छन्।

हिन्दू धर्म तथा परम्पराअनुसार विधिवत् पूजा–आराधना गर्दै पूर्वमुख्यमन्त्री सोनलले चौताराको उद्घाटन र हनुमान मन्दिरको शिलान्यास गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सोनलले चौतारा निर्माणले आवतजावत गर्ने बटुवालाई विश्राम गर्न सहज हुने बताए। त्यस्तै, हनुमान मन्दिर निर्माण भएपछि हिन्दू धर्मावलम्बीलाई विशेषगरी मंगलबार नियमित पूजा–आराधना गर्न थप सहज हुने उनको भनाइ थियो।

कार्यक्रममा जसपा नेपालका विश्रामपुर गाउँपालिका अध्यक्षका प्रत्यासी मदन यादव, केन्द्रीय सदस्य रामजी महतो, प्रदेश कार्यकारिणी सदस्य कृष्ण साह, वडा नम्बर २ का वडाध्यक्ष मनोज यादव, जसपा नेता अमरदेव कुशवाहा, जुमराती मियाँ, जिउत यादव, विजय पण्डित, हृदयनारायण यादव, भोला सोनार, सुरेन्द्र यादव, म. हुसैनलगायत स्थानीय भद्रभलादमी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय स्तरमा धार्मिक आस्था र सामाजिक सेवासँग जोडिएको यस कार्यले स्वर्गीय आशा देवी र अजय स्वर्णकारको स्मृतिलाई जीवन्त राख्ने विश्वास व्यक्त गरिएको छ।