एमालेको मंसिरमा शक्ति प्रदर्शनदेखि केन्द्रीय बैठकसम्म, लगातार तीन दिन तीन ठूला कार्यक्रम
काठमाडौं कार्तिक २९ गते: नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म पार्टीका तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ। राष्ट्रिय भेला, स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठकमार्फत पार्टीले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिन लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला आयोजना हुनेछ।
त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बस्नेछ। उक्त भेलामा एमालेबाट निर्वाचित देशभरका स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
लगातारका राष्ट्रिय भेलाहरू सम्पन्न भएपछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय गरिएको छ।
तीनवटा महत्त्वपूर्ण कार्यक्रम लगातार आयोजना गर्न लागेको एमालेले यसमार्फत पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहमा जनप्रतिनिधिहरूको भूमिका र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने अपेक्षा गरिएको छ।