छठको खुसी खोसियो, एउटै गाउँका १३ जनाको चित्कार ! सुन्दरपुरमा चुल्हो निभ्यो, गाउँ शोकमा डुब्यो
सर्लाही कार्तिक २८ गते:
छठ पर्व मनाउन घर फर्किने क्रममा मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीमा भएको भीषण हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरलाई शोकमा डुबाएको छ। एउटै गाउँका १३ जनाको ज्यान गएपछि सुन्दरपुरमा छठको खुसी आँसुमा परिणत भएको छ।

दुर्घटनापछि गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन। मृतकका परिवार र आफन्तजनको रुवाबासीले गाउँ नै स्तब्ध बनेको छ। वर्षौंदेखि सँगै छठ मनाउँदै आएका छिमेकी र आफन्त गुमाउँदा गाउँमा पर्वको रौनक पूर्ण रूपमा हराएको छ।
सबैभन्दा हृदयविदारक घटना अवधेश यादवको परिवारमा परेको छ। एउटै परिवारका ६ जनाको मृत्यु भएपछि उनकी आमा निर्मलादेवी यादव अचेत अवस्थामा पुगेकी छन्। अवधेशकी श्रीमती पुनम यादव, तीन छोरी अनु, दीक्षा र दीपिका तथा दुई भाइ विकेश र सुदेशको दुर्घटनामा ज्यान गएको छ। आठ महिनाकी गर्भवती पुनम र इन्जिनियरिङ अध्ययनरत विकेशको मृत्युले परिवारमा थप बज्रपात परेको छ। परिवारका डेढ वर्षीय छोरा भने जीवित छन् र काठमाडौंमा उपचाररत छन्।
त्यस्तै, प्रमोद रायका छोरा गुडु यादव र बुहारी गायत्री यादवको पनि मृत्यु भएको छ। उनीहरूसँगै घर फर्किरहेका पाँच वर्षीय सक्षम र तीन वर्षीय सुजन भने बाँच्न सफल भएका छन्। सक्षमले दुर्घटनाका बेला बुवाले आफूहरूलाई गाडीबाट बाहिर फालेकाले ज्यान जोगिएको बताएका छन्।
दुर्घटनामा अन्य परिवारले पनि आफ्ना सदस्य गुमाएका छन्। राकेश राय र उनका १४ वर्षीय छोरा रोहन, रामदुलार राय, राकेश राय तथा हाइस चालक रविशंकर मण्डलसहित १३ जनाको मृत्युले सुन्दरपुरका धेरै घर उजाडिएका छन्।
छठको खुसी साट्न घर फर्किएका यात्रुहरूको यात्रा मृत्युमा टुंगिएपछि सुन्दरपुरमा अहिले शोक र सन्नाटा छाएको छ। कतै आमाले सन्तान गुमाएकी छन्, कतै बालबालिकाले अभिभावक र कतै परिवारले आफ्ना सहारा गुमाएका छन्।
सहमतिपछि परिवारले बुझे शव
दुर्घटनापछि उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडानमा रहेका पीडित परिवार र सरकारबीच सहमति जुटेपछि आफन्तले शव बुझेका छन्।
चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनाका दोषीलाई कारबाही गर्ने, अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणको जिम्मेवारी राज्यले लिने र गाडीधनी तथा बिमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्तिमा थप रकम उपलब्ध गराउने सहमति भएको छ।
मृतकहरूको शुक्रबार राति नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार एकै स्थानमा अन्तिम संस्कार गरिने गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन्।
छठ मनाउन घर फर्किएका १३ जनाको मृत्युले एउटा गाउँको खुसी मात्र खोसेको छैन, कैयौँ बालबालिकाको भविष्य र परिवारको सहारा पनि उजाडिएको छ।