पचरौतामा कांग्रेसको बढ्दो आकर्षण, युवादेखि स्थानीय अगुवासम्म पार्टी प्रवेश!
स्पर्श खबर जितपुर बारा मंसिर १ गते:
पचरौता नगरपालिकामा नेपाली कांग्रेसप्रति स्थानीय युवा तथा व्यक्तिहरूको आकर्षण बढ्दै गएको छ। विभिन्न वडाका युवाहरू कांग्रेसमा प्रवेश गरेसँगै पचरौतामा पार्टी संगठन विस्तारले गति लिन थालेको छ।

पचरौता नगरपालिका–५ का रुपेश पण्डित र वडा नम्बर–६ का दिनेश रौनियारसहितको टोली नेपाली कांग्रेसमा प्रवेश गरेको हो।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका जिल्ला सचिव राजेश रौनियारले पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए। उनले नयाँ सदस्यहरूको आगमनले पार्टी संगठनलाई थप मजबुत, व्यवस्थित र चलायमान बनाउने विश्वास व्यक्त गरे।
पार्टी प्रवेश कार्यक्रममा पचरौता नगर कांग्रेसका सभापति इन्जाद अन्सारी, युवा नेता सुनिल यादव, सुमित श्रीवास्तवलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेताहरूले युवाहरूको सक्रिय सहभागिताले संगठन विस्तारसँगै जनताका समस्या र स्थानीय आवश्यकताका मुद्दा उठाउन थप बल पुग्ने बताएका थिए।

बारामा नेपाली कांग्रेसप्रति बढ्दो आकर्षणका रूपमा हेरिएको यस पार्टी प्रवेशले पचरौतामा संगठन विस्तारको नयाँ सन्देश दिएको छ। आगामी दिनमा थप युवा तथा स्थानीय अगुवाहरूलाई पार्टीमा जोड्दै संगठनलाई जनतामाझ अझ सक्रिय बनाउने कांग्रेस नेताहरूको अपेक्षा छ।