अँध्यारा टोल उज्यालो बनाउँदै रास्वपा वडा कमिटी–८, २०० भन्दा बढी सडक बत्ती जडान


अँध्यारा टोल उज्यालो बनाउँदै रास्वपा वडा कमिटी–८, २०० भन्दा बढी सडक बत्ती जडान!
स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते:

हिन्दुहरूको महान् पर्व छठलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ कमिटीले उदाहरणीय काम गरेको छ। वर्षौंदेखि अँध्यारोमा रहेका विभिन्न टोलका सडक तथा पोलहरूमा कमिटीले २०० भन्दा बढी बत्ती जडान गरेको छ।


रास्वपा वडा नम्बर ८ का सभापति राजु सहनीको सभापतित्व तथा पहलमा रमौली, लोसण्डा, गबरगाउँ, राजनगरलगायतका टोलमा बत्ती जडान गरिएको हो।
छठ पर्वका बेला व्रतालु तथा सर्वसाधारणलाई आवतजावतमा सहजता होस् र रातिको समयमा अँध्यारोका कारण समस्या नहोस् भन्ने उद्देश्यले प्रत्येक टोलका पोलमा बत्ती जडान गरिएको सभापति सहनीले बताए।
विभिन्न टोल अँध्यारो हुँदा स्थानीयले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै २०० भन्दा बढी बत्ती जडान गरिएको उनको भनाइ छ।
पर्वको मुखमा सडक उज्यालो बनाउने रास्वपा वडा कमिटीको यो पहलले स्थानीयवासीमा सकारात्मक सन्देश दिएको छ। राजनीतिक दलहरू भाषण र आश्वासनमा मात्र सीमित भइरहेका बेला स्थानीय आवश्यकतामा आधारित यस्तो कामले जनताको मन जित्ने अपेक्षा गरिएको छ।