वर्षौंदेखि बेवास्तामा परेको आर्यघाटमा निवर्तमान वडाध्यक्ष पटेलको चासो, आफ्नै लगानीमा गराए सरसफाइ

वर्षौंदेखि बेवास्तामा परेको आर्यघाटमा निवर्तमान वडाध्यक्ष पटेलको चासो, आफ्नै लगानीमा गराए सरसफाइ
जनप्रतिनिधिको नजर नपुगेको शमशानघाटमा निवर्तमान वडाध्यक्षको पहल, स्थानीयले गरे प्रशंसा।
स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते:

जितपुरसिमरा उपमहानगरपालिका–८ गमरगावाँस्थित हिन्दू समुदायको आर्यघाट तथा शमशानघाट वर्षौंदेखि फोहोर र अव्यवस्थित अवस्थामा रहेपछि निवर्तमान वडाध्यक्ष रामबाबु पटेलले आफ्नै निजी लगानीमा सरसफाइ तथा मर्मतसम्भार गराएका छन्।


लामो समयदेखि सरसफाइको अभावमा दुर्गन्धित र अव्यवस्थित बनेको आर्यघाटलाई व्यवस्थित बनाउन पटेलले आज सरसफाइ अभियान सञ्चालन गरेका हुन्।
पटेलले मृत्यु भएपछि सबैले यही स्थानमा आउनुपर्ने भएकाले आर्यघाटजस्तो संवेदनशील स्थललाई सफा र व्यवस्थित राख्नु सबैको दायित्व भएको बताए। अन्य जनप्रतिनिधिको ध्यान पुग्न नसकेको स्थानमा आफूले व्यक्तिगत पहल र लगानीमा सरसफाइ गराएको उनको भनाइ छ।


स्थानीय श्याम पासवानले वर्षौंदेखि फोहोर अवस्थामा रहेको शमशानघाट आज निवर्तमान वडाध्यक्ष पटेलको पहलमा सफा भएको भन्दै खुसी व्यक्त गरे।
सरसफाइ तथा मर्मतसम्भार कार्यक्रममा समाजसेवी योगेन्द्र महतो, धनाई बछार, सुरेश साह, रामानन्द महतो, बन्शी महतो लगायत गाउँका स्थानीय तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।


सार्वजनिक तथा धार्मिक महत्त्व बोकेको आर्यघाटको संरक्षण र सरसफाइमा सम्बन्धित निकायको समेत नियमित ध्यान जानुपर्ने स्थानीयको अपेक्षा छ।