तिहार सकिएसँगै छठको रौनक, जितपुरका नदी तथा पोखरी सजाउन सुरु

तिहार सकिएसँगै छठको रौनक, जितपुरका नदी तथा पोखरी सजाउन सुरु
स्पर्श खबर जितपुर बारा कार्तिक २४ गते:

तिहारको चहलपहल सकिएसँगै तराई–मधेसमा आस्थाको महापर्व छठको तयारीले तीव्रता पाएको छ। छठ पर्व नजिकिएसँगै बजारमा पूजासामग्री किनमेल गर्नेको भीड बढेको छ भने नदी, पोखरी तथा जलाशयहरूको सरसफाइ र सजावटको कामसमेत सुरु भएको छ।
चार दिनसम्म मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भएर सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ। यस वर्ष छठ पूजा कात्तिक २९ गते आइतबार परेको छ।
तराई–मधेसका भोजपुरी, अवधी, बज्जिका तथा मैथिली भाषी समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने परम्परा छ।


छठ पर्वका लागि जितपुरको रातोपुल, सिर्सिया नदी, बकुलिया नदी, केराढोकलगायतका स्थानमा रहेका जलाशयहरूको सरसफाइ तथा छठीघाट सजाउने काम सुरु भइसकेको छ। विभिन्न छठ पूजा व्यवस्थापन समितिहरूले आकर्षक टेन्ट, पण्डाल र झिलिमिली बत्ती लगाएर घाटलाई व्यवस्थित तथा आकर्षक बनाउने तयारी गरिरहेका छन्।
पछिल्ला वर्षहरूमा छठीघाटको सजावटमा समेत प्रतिस्पर्धा बढ्दै गएको छ। घाटको सजावट, विद्युत् व्यवस्थापन र अन्य तयारीका लागि स्थानीय स्तरमा गठित समितिहरूले लाखौँ रुपैयाँ खर्च गर्दै आएका छन्।


यता बजारमा छठ पूजाका लागि आवश्यक फलफूल, प्रसाद, पूजासामग्री, कपडा, तेल, मसला तथा भाँडावर्तन किनमेल गर्ने ग्राहकको भीड बढेको छ। छठ पर्वमा व्रतालुका साथै परिवारका अन्य सदस्यले समेत नयाँ कपडा लगाउने चलन रहेकाले रेडिमेड कपडा पसल तथा डिपार्टमेन्ट स्टोरहरूमा पनि चहलपहल बढेको छ।


जितपुरको सडक छेउमा राखिएको पसलमा छठका सामग्री किनमेल गर्दै भेटिएकी सिमराकी राधादेवीले पहिले नै सामान जुटाउँदा खर्च र समय दुवै व्यवस्थापन गर्न सहज हुने बताइन्।
‘अहिले नै सबै सामानको जोरजाम गरियो भने छठ पूजाका बेला त्यति धेरै धपेडी हुँदैन। पूजाका अन्य काममा पनि समय दिन पाइन्छ,’ उनले भनिन्।
छठ केवल धार्मिक आस्थाको पर्व मात्र नभई तराई–मधेसको संस्कृति, सामाजिक एकता र पारिवारिक सद्भावको प्रतीकसमेत हो। पर्व नजिकिएसँगै गाउँदेखि सहरसम्म छठको रौनक बढ्न थालेको छ।