राधाकृष्ण सामुदायिक वनलाई पर्यटकीय गन्तव्य बनाउने तयारी, मिनी जू स्थापनाको प्रस्ताव

राधाकृष्ण सामुदायिक वनलाई पर्यटकीय गन्तव्य बनाउने तयारी, मिनी जू स्थापनाको प्रस्ताव!
स्पर्श खबर जितपुर बारा असाेज २८ गते:

वन संरक्षण मात्रै होइन, पर्यटन र स्थानीयको आयआर्जनसँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। राधाकृष्ण मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र मिनी चिडियाखाना (मिनी जू) स्थापनाको सम्भावनाबारे छलफल भएको छ।


राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, सिमराद्वारा आयोजित शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका नवनियुक्त वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामले वन क्षेत्रमा पर्यटक भित्र्याउन प्रशस्त सम्भावना रहेको बताउनुभयो। आवश्यक प्रक्रिया र समन्वय पूरा भए बाघलगायत वन्यजन्तु उपलब्ध गराउने विषयमा निकुञ्जले सहयोग गर्न सक्ने उहाँको भनाइ थियो।वन छ, सम्भावना छ, तर बजेट अभाव मुख्य चुनौती!


जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले सामुदायिक वनलाई प्रभावकारी बनाउन स्पष्ट कार्ययोजना आवश्यक रहेको बताउँदै पर्सा र चितवन राष्ट्रिय निकुञ्ज अवलोकनका लागि एउटै टिकट प्रणाली लागू गर्न प्रस्ताव गर्नुभयो। यसले पर्यटकलाई सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो।


समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले वन्यजन्तुबाट किसानको अन्नबालीमा हुने क्षति न्यूनीकरण गर्न तारबार गरिएको जानकारी दिनुभयो। तर, पर्याप्त बजेट नहुँदा संरक्षण, पर्यटन प्रवर्द्धन र योजनाबद्ध विकासका काम प्रभावित भएको उहाँले गुनासो गर्नुभयो।


कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज मण्डल, जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुसुदन सिटौला, भीमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुमन थापा मगरलगायतले वन संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र स्थानीयको आर्थिक लाभलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष सत्यबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामलाई स्वागत गर्दै दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन शालिक रेग्मीले गर्नुभएको थियो।