डेढ करोडको बजेटमा सिद्धेश्वर सांस्कृतिक माविको ८ कोठे भवन शिलान्यास
मनाेज शाह जितपुर बारा असाेज २६ गते:
बाराको एक पुरानो शैक्षिक संस्था सिद्धेश्वर सांस्कृतिक माध्यमिक विद्यालयमा ८ कोठे भवन निर्माणको शिलान्यास गरिएको छ। पूर्वकृषिमन्त्री ज्वालाकुमारी शाहले हिन्दू परम्पराअनुसार पूजापाठ गरी भवनको शिलान्यास गरेकी हुन्।

विद्यालयका प्रधानाध्यापक छविलाल शर्माका अनुसार पूर्वकृषिमन्त्री शाहको पहलमा डेढ करोड रुपैयाँ बजेट ल्याएर भवन निर्माण कार्य अघि बढाइएको हो।
पूर्वकृषिमन्त्री शाहले विद्यालयको स्थलगत अनुगमनपछि तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताइन्।

उनका अनुसार दुर्गा माध्यमिक विद्यालयका लागि डेढ करोड र सिद्धेश्वर सांस्कृतिक माध्यमिक विद्यालयका लागि डेढ करोड रुपैयाँ छुट्याइएको हो।

सांस्कृतिक शिक्षासमेत प्रदान गर्दै आएको विद्यालयमा नयाँ भवन निर्माण सुरु भएपछि शैक्षिक पूर्वाधार थप मजबुत हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, शिक्षक तथा शिक्षिकालगायतको बाक्लो उपस्थिति रहेको थियो।