गोलबजारमा करातेको महासंग्राम!
४ प्रदेशका ४५० खेलाडी भिड्दै, विजेतालाई ३५ हजार उत्कृष्ट खेलाडीलाई ७५ हजार, दुई उदयमान खेलाडीलाई माउन्टेन साइकल
सिराहा असाेज १५ गते : गोलबजार नगरपालिका–२ लालपुरमा तेस्रो वडा अध्यक्ष अन्तरप्रदेश आमन्त्रित सितोरियो कराते प्रतियोगिता २०८३ असोज १६, १७ र १८ गते आयोजना हुने भएको छ।

गोलबजार नगरपालिका–२ वडा कार्यालयको सहयोगमा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका करिब ४५० खेलाडी सहभागी हुने प्रशिक्षक कसम लामाले जानकारी दिए।
नेपाल सितोरियो करातेका खेलाडीलाई प्रतिस्पर्धामार्फत आफ्नो प्रतिभा देखाउँदै अगाडि बढ्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुने टिमले १५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

दुई जना उदयमान खेलाडीलाई माउन्टेन साइकल प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको समन्वय नेपाल सितोरियो कराते गोलबजार मेनडोजोले गर्नेछ।