सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउ

सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउ
स्पर्श खबर जितपुर बारा असाेज १४ गते:

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरा चोकबाट झण्डै ३ किलो लागूऔषध अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले पैदल हिँडिरहेका रौतहट चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको छ। अफिम ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर शिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
सिमरा चोकमा उनीहरूले बोकेको झोला जाँच गर्ने क्रममा अफिम फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।