जबरालाई मध्यरातमा नियन्त्रणमा लिएपछि सर्वोच्चमा हलचल, प्रधानन्यायाधीश शर्मामाथि न्यायाधीशहरूको कडा प्रश्न
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएर करिब १२ घण्टापछि रिहा गरेको घटनापछि सर्वोच्च अदालतभित्रै त्यसको गम्भीर असर देखिएको छ।
सोमबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश मनोजकुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाउँदै अदालतमा बिचौलियाको सक्रियता, संवैधानिक इजलासमा चलखेलको आरोप तथा न्यायाधीशहरूको सुरक्षा विषयमा जवाफ मागेका छन्।
जबरालाई पक्राउ पुर्जीबिना निवासबाट नियन्त्रणमा लिइएको र प्रहरी कार्यालयमा पुगेपछि मोबाइलसमेत नियन्त्रणमा लिइएको विषयले न्यायाधीशहरूमा चिन्ता बढाएको बैठकमा सहभागी न्यायाधीशहरूले बताएका छन्। ‘पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा चुनौतीका नाममा यसरी नियन्त्रणमा लिइन्छ भने भोलि बहालवाला न्यायाधीशको अवस्था के हुन्छ?’ भन्ने प्रश्नसमेत उठेको थियो।
करिब पाँच घण्टा चलेको फुलकोर्ट बैठकमा अधिकांश न्यायाधीशले सर्वोच्च अदालतको पछिल्लो अवस्थाबारे प्रधानन्यायाधीशसँग प्रश्न गरेका थिए। बिचौलिया फेरि सक्रिय भएको, विशेष अदालतका न्यायाधीशको कार्यशैलीबारे गुनासो आएको तथा संवैधानिक इजलासको पेसी तोक्ने प्रक्रियामाथि प्रश्न उठेको विषय बैठकमा उठाइएको थियो।
न्यायाधीशहरूले संवैधानिक इजलासको पेसीसमेत गोलाप्रथाबाट तोक्न सुझाव दिएका छन्। उनीहरूले अदालतलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सञ्चालन गर्न नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।
पूर्वप्रधानन्यायाधीश जबरासँग सम्पर्क छ कि छैन भन्ने प्रश्नमा प्रधानन्यायाधीश शर्माले आफूहरूको कुनै सम्पर्क नरहेको बताएका थिए। बैठकमा उठेका विषयलाई सम्बोधन गर्दै शर्माले विगतमा केही कमजोरी भएको भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
फुलकोर्टपछि सर्वोच्च अदालतले बैठकमा उठेका विषयबारे विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको छ।