देशको राजनीति जटिल छ : प्रचण्ड, ‘पार्टी संगठन बलियो बनाउन मैदानमा खटिनुस्’
स्पर्श खबर जितपुर बारा असाेज १३ गते:
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सामान्य नरहेको बताउँदै पार्टी संगठनलाई थप बलियो बनाउन नेता–कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ।

कलैयास्थित होटल बरेवा दरबारमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको बारा जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीति जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो। उहाँले आफ्नो नेतृत्वमा सरकार हुँदा गरिब, किसान र श्रमिकका पक्षमा महत्वपूर्ण काम भएको दाबी गर्दै ती कामको श्रेय अन्य नेतृत्वले लिने गरेको टिप्पणी गर्नुभयो।

प्रचण्डले वर्तमान प्रतिनिधिसभामा महिला, मधेशी, दलित तथा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुमा राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै कारण नभएको दाबी गर्नुभयो। उहाँका अनुसार माओवादी, नेकपा एमालेसहित सात राजनीतिक दलको भूमिकाबाट पनि त्यस्तो प्रतिनिधित्व सम्भव भएको हो।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट पार्टीबिना देश अगाडि बढ्न नसक्ने दाबी गर्दै पार्टीप्रति विश्वास गर्न आग्रह गर्नुभयो। उहाँले देशको भविष्य निर्माणमा नेपाली कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादवले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र सुदृढीकरणमा जोड दिनुभयो। प्रशिक्षणबाट प्राप्त ज्ञानलाई गाउँ–गाउँसम्म संगठन निर्माणमा प्रयोग गर्न उहाँले नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो।
मधेश मुक्ति मोर्चाका संयोजक तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले राजनीतिक नेतृत्वको आलोचना गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले गणतन्त्र, लोकतन्त्र र जनयुद्धका उपलब्धि राजनीतिक नेतृत्वको योगदानबाट प्राप्त भएको दाबी गर्नुभयो।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको हुनसक्ने आशयको अभिव्यक्ति दिएको प्रसंग उठाउँदै यादवले त्यसको प्रमाण सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले भने विषयलाई सीमा क्षेत्रमा रहेको ‘क्रस बोर्डर अकुपेसन’ र दशगजा क्षेत्रसँग जोडिएको प्राविधिक अवस्थाका रूपमा स्पष्ट गरेको थियो।
नेकपाका बारा जिल्ला इन्चार्ज रमेश यादवले पार्टीभित्रका कमजोरी सुधार गर्दै आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई नेतृत्वदायी भूमिकामा पुर्याउने गरी काम गर्न आग्रह गर्नुभयो।
जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटीमा थपिएका नयाँ सदस्यलाई पार्टी संयोजक प्रचण्डले शपथ ग्रहण गराउनुभयो।
नेपाली कम्युनिस्ट पार्टीले गरिबी अन्त्य, किसानको अधिकार स्थापना र देशमा शान्ति कायम गर्ने एजेन्डालाई अघि सार्दै संगठन विस्तार र सुदृढीकरणलाई तीव्र बनाउने नेताहरूले बताएका छन्।