सिमरामा होटलभित्रै चक्कु प्रहार, ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु

सिमरामा होटलभित्रै चक्कु प्रहार, ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु
स्पर्श खबर जितपुर असाेज ३ गते:

जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन्।
सिमरास्थित सम्झना स्टाफ होटलभित्र खाजा खाइरहेका बेला खड्कामाथि एक युवकले चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चक्कु प्रहारबाट उनको घाँटीमा गम्भीर चोट लागेको थियो।
घाइते खड्कालाई स्थानीयले तत्काल जीतपुरसिमरा नगर अस्पताल पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जनाइएको छ।
घटनापछि चक्कु प्रहार गर्ने युवक फरार भएका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान खुलिसकेको छैन।
इलाका प्रहरी कार्यालय सिमराको टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीले घटनाबारे अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।