सिमरामा असोज १० देखि अन्तर्राष्ट्रिय महिला फुटबल, विजेताले ५ लाख ११ हजार पाउने
मनाेज शाह जितपुर बारा असाेज ४ गते:
सिमरामा असोज १० गतेदेखि १७ गतेसम्म जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुने भएको छ। सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

सिमरा रंगशालामा रात्री समयमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ८ महिला फुटबल टोली सहभागी हुनेछन्। नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब धरान, बसन्तपुर युनाइटेड क्लब चितवन, भारतको दार्जिलिङस्थित कुर्सेङ गोल्स फुटबल क्लब, झारखण्ड स्टेट स्पोर्टस् प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको साविक विजेता एपीएफ हो। अघिल्लो संस्करणको फाइनलमा एपीएफले आर्मीलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक हरि चौधरीले बताए। इमर्जिङ प्लेयर र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।
पहिलो चार खेलका लागि ५० रुपैयाँ, सेमिफाइनलका लागि १०० रुपैयाँ र फाइनलका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। टिकटबाट संकलित रकमको १० प्रतिशत रसुवा बाढी प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले महिला फुटबल प्रतियोगितालाई जीतपुरसिमराकै गौरवका रूपमा लिनुपर्ने बताए। महिलाको सशक्तीकरण, आत्मबल र स्वास्थ्य विकाससँग जोडिने भएकाले उपमहानगरपालिकाले यस्ता प्रतियोगितालाई प्राथमिकता दिएको उनको भनाइ थियो।

सिमरा भेट्रान क्लबका अध्यक्ष विजय राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, क्लबका सल्लाहकार हिरा बस्नेतलगायतले प्रतियोगिताको महत्वबारे धारणा राखेका थिए।