मुजफ्फरपुरमा अलपत्र नेपाली महिलाको वीरगञ्जमा उद्धार, प्रहरी र मानवसेवा आश्रमको पहलमा बुवाको जिम्मा
स्पर्श खबर जितपुर बारा असाेज २ गते:
भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी नेपाली महिलाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वयमा भदौ २७ गते भारतबाट उद्धार गरी वीरगञ्ज ल्याइएकी महिलालाई आवश्यक हेरचाह तथा संरक्षणपछि आज उनका बुवाको जिम्मा लगाइएको हो।
भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रमको संयुक्त प्रयासमा उद्धार सम्भव भएको थियो। वीरगञ्ज ल्याएपछि परिवारसँग सम्पर्क तथा समन्वय अघि बढाइएको थियो।निरन्तर प्रयासपछि महिलाका बुवासँग सम्पर्क स्थापित भएको र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चक्र मल्ल तथा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताको उपस्थितिमा उनलाई बुवाको जिम्मा लगाइएको आश्रमले जनाएको छ।
लामो समयदेखि परिवारबाट टाढा रहेकी महिलाको सफल पारिवारिक पुनर्मिलन भएको छ।
मानवसेवा आश्रमले उद्धार तथा पुनर्मिलनमा सहयोग गर्ने भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा र सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।