तीव्र गतिमा पिकअप दुर्घटना : छातापिपरामा चालकको घटनास्थलमै मृत्यु
स्पर्श खबर जितपुर बारा भदौ २२ गते:
वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान कुखुरा बोकेको पिकअप गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा वीरगञ्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.५ च २२७७ नम्बरको पिकअप तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो। डिभाइडरमा ठोक्किएपछि पिकअप अर्को लेनमा पुगेर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सहचालक बाराको विश्रामपुर गाउँपालिका–९ निवासी २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन्। उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।