कांग्रेसभित्रको विवाद समाधानको अन्तिम कसरत, शीर्ष नेताबीच निर्णायक संवाद!

कांग्रेसभित्रको विवाद समाधानको अन्तिम कसरत, शीर्ष नेताबीच निर्णायक संवाद!
काठमाडौँ भदौ १९ गते। नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधान गर्न सभापति गगन थापासहित शीर्ष नेताहरू सक्रिय भएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि पार्टीभित्र बढेको मतभेद अन्त्य गर्न अहिले निर्णायक सहमतिको प्रयास भइरहेको छ।


विवाद समाधानका लागि अनुकूल वातावरण बनाउन केन्द्रीय निर्वाचन समितिले तय गरेको भदौ २४ गतेको वडा अधिवेशन असोज २ गतेसम्म सार्ने तयारी गरेको स्रोतले जनाएको छ। यसैबीच शनिबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि सारेर आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।


संस्थापन पक्षबाट सभापति गगन थापाले इतर समूहका नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग आन्तरिक संवाद तीव्र पारेका छन्।
डा. कोइरालाले पार्टी एकताका लागि अघि सारेको ५ बुँदे प्रस्तावमा संस्थापन पक्ष सकारात्मक देखिएको बताइएको छ। प्रस्तावमा १४औँ र विशेष महाधिवेशनबाट बनेका केन्द्रीय समितिको समायोजन, क्रियाशील सदस्यता अद्यावधिक नगर्ने तथा विभिन्न समितिहरू सहमतिका आधारमा गठन गर्ने विषय समेटिएका छन्।
दुई पक्षबीच शनिबार वा आइतबार बिहानसम्म निर्णायक वार्ता हुन सक्ने नेताहरूले बताएका छन्।
उता, इतर समूहले समानान्तर महाधिवेशनको तालिका सार्वजनिक गरे पनि पार्टी विभाजन हुन नदिन शीर्ष नेताहरूले संवादको ढोका खुलै राखेका छन्। डा. कोइराला, पूर्णबहादुर खड्का र निवर्तमान सभापति शेरबहादुर देउवा समानान्तर गतिविधिसम्बन्धी बैठकमा सहभागी भएका छैनन्।
सभापति थापाले देउवासँग पनि भेटवार्ताका लागि समय मागेका छन्। तर देउवा भने सर्वोच्च अदालतमा परेको पुनरवलोकन रिटको टुंगो लागेपछि मात्र राजनीतिक छलफल गर्ने मनस्थितिमा रहेको बताइएको छ।
यसैबीच, क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि विवाद समाधान हुने अपेक्षामा सदस्यताको सूची पूर्ण रूपमा बन्द नगरी खुला राख्ने रणनीति अपनाएको छ। सहमति भएलगत्तै इतर समूहका कार्यकर्ताको नामसमेत समावेश गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।