बाढीको घाउ हेर्न मैदानमा ओली, स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगे

बाढीको घाउ हेर्न मैदानमा ओली, स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगे
नुवाकोट भदौ १९ गते:

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित नागरिकको अवस्था बुझ्न स्वयंसेवक टोलीसहित नुवाकोटको प्रभावित क्षेत्रमा पुगेका छन्।
ओली बिदुर नगरपालिका–५ अन्तर्गत बटार, ढुङ्गेलगायत क्षेत्रमा पुगेर बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन्।


भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको थियो।
बाढीले नदी किनारका बस्ती तहसनहस बनाएको छ भने सडक तथा विभिन्न भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।
विपत्तिपछि पीडामा रहेका नागरिकको अवस्था प्रत्यक्ष बुझ्न ओली स्वयं प्रभावित क्षेत्रमै पुगेका हुन्। उनले बाढीपीडितसँग भेटघाट गर्दै क्षतिको अवस्था र आवश्यक सहयोगबारे जानकारी लिने जनाइएको छ।
विपत्तिको घडीमा नेताहरूको उपस्थितिमाथि प्रश्न उठिरहेका बेला ओली स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगेका छन्।