जितपुरमा गरिबको कामको भ्यालु छैन, पैसावालाकै चुनाव चल्छ: आजाद

जितपुरमा गरिबको कामको भ्यालु छैन, पैसावालाकै चुनाव चल्छ: आजाद
स्पर्श खबर जितपुर बारा भदौ १९ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका स्थानीय महम्मद कलाम आजादले स्थानीय राजनीतिमा बढ्दो पैसाको प्रभावमाथि कडा प्रश्न उठाएका छन्। उनले गरिब तथा आर्थिक रूपमा कमजोर व्यक्तिले समाजका लागि जति नै राम्रो काम गरे पनि चुनावी राजनीतिमा अवसर नपाउने अवस्था रहेको बताएका छन्।


आजादले भने, “जितपुरमा हामीजस्ता गरिब मान्छे कहाँ वडाध्यक्षमा चुनाव लड्न सक्छौँ? यहाँ करोडौं करोडौंको खेल हुन्छ। गरिबले समाजका लागि जति राम्रो काम गरे पनि त्यसको भ्यालु हुँदैन।”
उनका अनुसार निर्वाचनको समयमा पैसाको चलखेल अत्यधिक हुने गरेको छ। “यहाँ अर्बपति–करोडपति चुनाव लड्छन्। जससँग पैसा छ, उसैले चुनाव लड्छ, उसैले निर्वाचनमा प्रभाव जमाउँछ र उही जित्ने सम्भावना बढी हुन्छ,” उनले गुनासो गरे।


आजादले समाजसेवा, इमानदारी र जनताको पक्षमा काम गर्ने व्यक्तिभन्दा आर्थिक शक्ति भएकालाई बढी महत्व दिने प्रवृत्तिमाथि प्रश्न उठाउँदै भने, “हामीजस्ता गरिब मान्छेको कहाँ भ्यालु छ र?”
उनको यो अभिव्यक्तिले जितपुरको स्थानीय राजनीतिमा पैसा, पहुँच र चुनावी खर्चको प्रभाव कति बढ्दै गएको छ? भन्ने गम्भीर बहस सिर्जना गरेको छ।