आगामी निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय
बुटवल भदौ २ गते:
अग्रगामी मोर्चाले आगामी निर्वाचनसम्म देशका कुनै पनि प्रदेश सरकारमा आफ्ना घटक दलहरू सहभागी नहुने निर्णय गरेको छ। मोर्चाको बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनमा देखिएको राजनीतिक असंवैधानिकता र गैरलोकतान्त्रिक प्रवृत्तिको विरोध गर्दै यस्तो निर्णय गरेको हो।

मोर्चाले मगलबार जारी गरेको प्रेस विज्ञप्तिमा लुम्बिनी प्रदेशसभामा संसदीय व्यवस्थाको मूल्य, मर्यादा र मान्यतालाई बेवास्ता गर्दै नेकपा एमाले नेतृत्वको प्रदेश सरकारले जनता समाजवादी पार्टी, नेपालका प्रदेशसभा सदस्यहरूलाई मन्त्री पदको शपथ गराएको र प्रदेशसभा सदस्यहरूबाट सरकारको पक्षमा मतदान गराउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।

मोर्चाले उक्त कार्य संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको मान्यताविपरीत मात्र नभई अनैतिक तथा असंसदीय भएको ठहर गर्दै त्यसको घोर भर्त्सना गरेको छ। साथै, यस्ता असंसदीय गतिविधि तत्काल सच्याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
अग्रगामी मोर्चाको बैठकले आगामी प्रदेशसभा निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने निर्णय सर्वसम्मत रूपमा गरेको विज्ञप्तिमा उल्लेख छ।
मोर्चाले प्रदेश सरकार सञ्चालनमा देखिएका विकृति, सत्ता स्वार्थ र संसदीय मूल्य–मान्यताको उल्लङ्घनविरुद्ध आफ्नो राजनीतिक धारणा स्पष्ट गर्दै आगामी निर्वाचनसम्म प्रदेश सरकारमा सहभागिताको बाटो बन्द गरेको जनाएको छ।
मोर्चाको यो निर्णयले प्रदेश सरकारमा हुने सत्ता साझेदारी र राजनीतिक समीकरणप्रति उसको असन्तुष्टिलाई थप स्पष्ट पारेको छ।