वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो

वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो

मनाेज शाह जितपुर बारा भदौ २ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा वर्षौंदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा बस्दै आएका अव्यवस्थित सुकुम्बासी तथा भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ।


भूमि समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा गर्दै मंगलबार लालपुर्जा वितरणसम्बन्धी आवश्यक कागजातसहितको फाइल सम्बन्धित निकायमा बुझाइएको हो।
वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेको नेतृत्वमा उपमहानगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख सुदन चौधरी र राजस्व शाखा प्रमुख राम शर्मा पौडेलसहितको टोलीले नापी तथा मालपोत कार्यालय कलैयाका प्रमुख सुबोध यादवलाई फाइल बुझाएको हो।
फाइल बुझाएसँगै पुस्तौँदेखि सोही क्षेत्रमा बसोबास गर्दै आए पनि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका भूमिहीन तथा सुकुम्बासी परिवारमा लालपुर्जा पाउने आशा पलाएको छ। जग्गाको स्वामित्व नहुँदा उनीहरूले वर्षौंदेखि विभिन्न कानुनी, सामाजिक तथा आर्थिक समस्या झेल्दै आएका थिए।
वडाध्यक्ष वाग्लेले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेर वडा कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको बताउनुभयो। सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया छिटो टुंग्याएर वास्तविक भूमिहीन परिवारलाई जग्गाको स्वामित्व दिलाउने प्रयास भइरहेको उहाँको भनाइ छ।
लालपुर्जा पाउने प्रक्रिया अघि बढेपछि लामो समयदेखि अस्थायी र असुरक्षित बसोबास गर्दै आएका परिवारमा उत्साह थपिएको छ। स्थानीयले भने अब प्रक्रिया कागजमै सीमित नराखी छिटो टुंग्याएर वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको हातमा लालपुर्जा पुर्‍याउन सम्बन्धित निकायसँग माग गरेका छन्।