७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ बरामद, एक महिला पक्राउ
बिरेन्द्रनगर साउन २८ गते
सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा लुकाइछिपाइ लगिँदै गरेको करिब ७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ प्रहरीले बरामद गरेको छ।
वीरेन्द्रनगर–१३ स्थित सुब्बाकुना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बस चेकजाँच गर्ने क्रममा पाँच बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त च्याउ फेला पारेको हो।
प्रहरीले च्याउसहित जुम्लाको सिँजा गाउँपालिका–६ की ३२ वर्षीया चन्द्रकली बुढालाई नियन्त्रणमा लिएको छ। बरामद च्याउ प्रतिबन्धित रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले च्याउ कहाँबाट ल्याइएको, कहाँ लैजान खोजिएको र यसको कारोबारमा अन्य व्यक्ति संलग्न भए/नभएको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।