एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित, न्यायको खोजीमा डोम श्रमिक
सिकेन्द्र साह सिम्राैनगढ साउन २७ गते
सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटाका सरसफाइ कर्मचारी गिरि मलि डोम एक वर्षदेखि पारिश्रमिक नपाएपछि आर्थिक संकटमा परेका छन्। आफूले निरन्तर काम गरे पनि पारिश्रमिकका लागि पटक–पटक नगरपालिका धाउँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ।

करार सेवामा नियुक्त भएका मलिको जिम्मेवारी वडा क्षेत्रमा सरसफाइ गर्ने, नाला तथा चर्पी सफा गर्ने थियो। सुरुवाती समयमा नियमित पारिश्रमिक पाए पनि पछिल्लो एक वर्षदेखि आफ्नो पारिश्रमिक रोकिएको उनले बताएका छन्।
मलिले नगर प्रमुख किशोरी साह कलवारको निर्देशनमा आफ्नो पारिश्रमिक रोकिएको आरोप लगाएका छन्। “एक वर्षदेखि पारिश्रमिक नपाउँदा घर चलाउनै समस्या भएको छ। स–साना बालबालिका छन्, पटक–पटक गुहार माग्दा पनि सुनुवाइ भएन,” उनले गुनासो गरे।
आफू महादलित समुदायबाट भएकै कारण आफ्नो समस्यालाई गम्भीरतापूर्वक नलिइएको मलिको आरोप छ। नगरपालिकामा आफूजस्तै काम गर्ने अन्य डोम कर्मचारी अझै कार्यरत रहेको उनको भनाइ छ।
यता, नगर प्रमुख किशोरी साहले भने नगरपालिकाले नियमअनुसार ११७ जना कर्मचारीलाई हटाएको दाबी गरेका छन्। कर्मचारी हटाउने प्रक्रिया नियमअनुसार नै भएको उनको भनाइ छ।
कर्मचारी र नगरपालिकाबीच पारिश्रमिक रोकिएको विषयमा फरक–फरक दाबी सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ। लामो समय काम गरेका कर्मचारीको पारिश्रमिक रोकिएको भए त्यसको कानुनी र प्रशासनिक आधार सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।
श्रम गरेको एक वर्षको पारिश्रमिक नपाउनु सामान्य प्रशासनिक विषय नभई श्रमिकको अधिकारसँग जोडिएको गम्भीर प्रश्न हो। विपन्न तथा महादलित समुदायका श्रमिकलाई आफ्नो मेहनतको ज्याला लिनै भौतारिनुपर्ने अवस्था अन्त्य गर्दै सम्बन्धित निकायले तत्काल छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ।