रवि लामिछाने : १५–२० वर्षका लागि बलियो जग खन्दैछ सरकार

रवि लामिछाने १५–२० वर्षका लागि बलियो जग खन्दैछ सरकार
काठमाडौं साउन २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ निर्माण गर्ने काम गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले सरकार गठन भएको चार महिनामा तत्काल देखिने ठूला परिणाम नदेखिए पनि दीर्घकालीन रूपमा महत्वपूर्ण काम भइरहेको दाबी गरे।
उनले संसदमा युवाको उल्लेख्य उपस्थिति हुनु र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
रास्वपा ‘विकल्प खोज्ने’ मात्र नभई आफैं विकल्प बनेर आगामी दिनमा ‘निर्विकल्प शक्ति’का रूपमा स्थापित हुने लक्ष्यका साथ अघि बढिरहेको लामिछानेको भनाइ थियो।
युवा सांसद तथा मन्त्रीहरूलाई पदमा रमाउनेभन्दा परिणाममुखी भएर काम गर्न आग्रह गर्दै उनले जिम्मेवारीबाट पन्छिने वा असफल हुने अवस्था आए ‘अनुभवहीन युवाबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य बन्न सक्ने चेतावनी दिए।
लामिछानेले युवा नेतृत्वमाथि जनताको ठूलो अपेक्षा रहेकाले त्यसलाई पूरा गर्न गम्भीर, जिम्मेवार र परिणाममुखी भएर अघि बढ्नुपर्नेमा जोड दिए।