सामाजिक लेखापरीक्षणमार्फत पारदर्शिताको सन्देश : बकुलियाको नमूना विद्यालयको वार्षिक आम्दानी १ करोड २६ लाखभन्दा बढी
स्पर्श खबर जितपुर बारा साउन २० गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी, उत्तरदायी तथा सुशासित बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ।

बकुलिया क्याम्पसको सभाकक्षमा लेखापरीक्षण समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयले गत आर्थिक वर्षको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो।
विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले प्रस्तुत गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आम्दानी १ करोड २६ लाख २७ हजार ९ सय १२ रुपैयाँ पुगेको छ। वडा नम्बर–५ कार्यालयबाट अतिरिक्त कोचिङ कक्षा सञ्चालनका लागि विनियोजन गरिएको ५ लाख रुपैयाँमध्ये २ लाख ७८ हजार ७ सय रुपैयाँ विद्यालयको खातामा प्राप्त भएको जानकारी दिइयो।

त्यसैगरी छात्राहरूका लागि सेनिटरी प्याड खरिद गर्न स्थानीय सरकारबाट १ लाख ८ हजार ४ रुपैयाँ उपलब्ध गराइएको पनि जानकारी गराइयो।
प्रधानाध्यापक गौतमले लामो समयदेखि रोकिएको नमूना विद्यालय विकास कार्यक्रमको बजेट आर्थिक वर्ष २०८१/८२ देखि पुनः कार्यान्वयनमा आएको र गत आर्थिक वर्षमा सो कार्यक्रमअन्तर्गत १३ लाख ७० हजार रुपैयाँ खर्च गरिएको जानकारी दिनुभयो। साथै चालु आर्थिक वर्षको अनुमानित आय–व्यय प्रस्तुत गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिने बताउनुभयो।
कार्यक्रममा शिक्षक प्रतिनिधि सन्तोषकुमार गुप्ताले छात्राहरूका लागि सेनिटरी प्याड वितरण कार्यक्रम नियमित सञ्चालन भइरहेको र यसले किशोरीहरूको विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो।
वडा सदस्य इन्दल हाजराले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै अतिरिक्त कोचिङ कार्यक्रमलाई आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष कृष्णप्रसाद चौधरीले विद्यालयका गतिविधिमा अभिभावकको सहभागिता अझै अपेक्षाअनुसार हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षक अभावको समस्या समाधानका लागि सर्वसम्मत निर्णयअनुसार विद्यार्थीबाट वार्षिक रूपमा न्यून रकम सहयोगस्वरूप संकलन गर्ने निर्णय गरिएको जानकारी दिँदै उक्त रकम विद्यालयको शैक्षिक व्यवस्थापन तथा आवश्यक खर्चमा उपयोग गरिने बताउनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले सामाजिक लेखापरीक्षणले विद्यालयको आर्थिक पारदर्शिता, उत्तरदायित्व तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। विद्यालयले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।