वीरगन्जमा पक्राउ परेका चार हिन्दु युवा साँझ रिहा, ब्यानर च्यातिएको विरोधमा भएको थियो प्रदर्शन

वीरगन्जमा पक्राउ परेका चार हिन्दु युवा साँझ रिहा, ब्यानर च्यातिएको विरोधमा भएको थियो प्रदर्शन
स्पर्श खबर जितपुर बारा साउन १६ गते:

वीरगन्जको रानीघाट क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका चार जना हिन्दु युवालाई शनिबार साँझ रिहा गरेको छ।
प्रहरीले शनिबार बिहान प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका उनीहरूलाई दिनभर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको थियो। साँझ करिब ५ बजे चारै जनालाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिएका छन्।
शनिबार बिहान रानीघाटस्थित एक जिम हाउसमा झुण्ड्याइएको बजरंगबली (भगवान हनुमान) को तस्वीर रहेको ब्यानर रातिको समयमा च्यातिएको अवस्थामा फेला परेपछि त्यसको विरोधमा स्थानीय हिन्दु युवाहरू सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर विरोध जनाएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो।
साँझ उनीहरूलाई रिहा गरिएसँगै तत्कालका लागि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ। ब्यानर कसले र किन च्यात्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।