मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुन

मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुन
मनाेज शाह जितपुर बारा श्रवण १२ गते: जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित मादरसा इस्लामियाको आज माननीय सहजान खातुनले अनुगमन गर्नुभएको छ।


अनुगमनका क्रममा माननीय खातुनले विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय पक्षको अवलोकन गर्दै मादरसा नियमपूर्वक, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँले विद्यालयमा अध्ययन–अध्यापनदेखि व्यवस्थापनसम्मका गतिविधि सन्तोषजनक रहेको उल्लेख गर्नुभयो।


माननीय खातुनले यहाँ कार्यरत शिक्षक, विद्यालयका अगुवा, व्यवस्थापन समिति तथा सम्बन्धित सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले यस्तै अनुशासन, पारदर्शिता र गुणस्तरीय शिक्षालाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो।
अनुगमनका क्रममा विद्यालय प्रशासनसँग शैक्षिक अवस्था, विद्यार्थीको सिकाइ, पूर्वाधार तथा भावी योजनाबारे पनि छलफल भएको थियो।

स्थानीय समुदायको सहयोग र विद्यालय परिवारको सक्रियताले मादरसा प्रभावकारी रूपमा सञ्चालन भइरहेको भन्दै उहाँले आगामी दिनमा आवश्यक सहयोगका लागि आफू सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीयवासीले पनि माननीय खातुनको अनुगमनले विद्यालयको शैक्षिक विकास र व्यवस्थापनलाई थप उत्साह मिल्ने विश्वास व्यक्त गरेका छन्।