जितपुरमा ईभी कार अनियन्त्रित, किराना पसल र ज्वेलर्समा ठक्कर — दुई जना सामान्य घाइते
स्पर्श खबर जितपुर बारा ११ गते
जितपुर सिमरा उपमहानगरपालिका–७ टेढा रोडस्थित भित्री सडकखण्डमा आइतबार दिउँसो ईभी कार अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा मानवीय क्षति नभए पनि किराना पसल, ज्वेलर्स र कारमा उल्लेखनीय क्षति पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार टेढाबाट जितपुरतर्फ आउँदै गरेको बा.प्र. ०१–०३१ च ३८८० नम्बरको ईभी कार अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएका १२ बोरा चामलमा ठोक्किएको थियो। कारको ठक्करबाट नजिकै रहेको प्रभात ज्वेलर्सको काउन्टरमा समेत क्षति पुगेको छ।

दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनामा दुई जना सामान्य घाइते भएका छन् भने थप उपचार र अवस्थाबारे विवरण आउन बाँकी रहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा संलग्न कारका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ निवासी अन्दाजी ५० वर्षीय अशोककुमार अधिकारी इलाका प्रहरी कार्यालय सिमरा, बारामा आफैँ सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार दुर्घटनामा कुनै गम्भीर मानवीय क्षति भएको छैन। दुर्घटनाग्रस्त ईभी कार हाल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।