साउने सोमबारमा बोलबम यात्रा तनावग्रस्त: डिजे विवादले लियो उग्र रूप, प्रहरीको गोली चल्यो
स्पर्श खबर जितपुर बारा श्रवण ११ गते:
साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एक पक्षले मध्यरातमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरेपछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको छ।
मध्यरातमा अनावश्यक होहल्ला र ठूलो आवाजले सर्वसाधारणलाई समस्या भएको भन्दै अर्को पक्षले विरोध जनाएपछि दुई समूहबीच भनाभन सुरु भएको थियो। केहीबेरमै विवाद चर्किँदै झडपको अवस्था सिर्जना भएको बताइएको छ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि घटनास्थलमा पुगेको प्रहरीले सुरुआतमा अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर पार्ने प्रयास गरेको थियो। तर, त्यसबाट पनि अवस्था सामान्य हुन नसकेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ।
हवाई फायरपछि पनि झडप नरोकिएर भीड आक्रामक बनेपछि अन्ततः प्रहरीले गोली चलाउनुपरेको जनाएको छ। घटनामा घाइते तथा क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।
घटनापछि क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।