७ दिनभित्र हाजिर नभए जागिर नै गुम्न सक्छ! लामो समयदेखि बेपत्ता ११ प्रहरीलाई प्रधान कार्यालयको अन्तिम चेतावनी
काठमाडौं श्रवण ११ गते:लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र अनिवार्य रूपमा सम्पर्कमा आउन कडा निर्देशन दिएको छ।
प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको स्पष्ट कारण खुलाएर सम्बन्धित प्रहरी कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
प्रहरीका अनुसार ती कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गर्नुपरेको हो।
नेपाल प्रहरीले तोकिएको समयभित्र उपस्थित भई स्पष्टीकरण नदिए कानुन र प्रहरी नियमावलीअनुसार थप विभागीय कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिएको छ।

प्रहरी प्रधान कार्यालयको यो कदमले संगठनभित्र अनुशासन कायम गर्न र गैरजिम्मेवार रूपमा लामो समयदेखि सम्पर्कविहीन रहने कर्मचारीमाथि कडा निगरानी तथा कारबाही हुने संकेत दिएको छ।