उमेश निरौलाको एक्सनमा लागूऔषध कारोबारीको भागाभाग, एकै दिन दुई जना पक्राउ
मनाेज शाह जितपुर बारा श्रवण ५ गते:
इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा लागूऔषधविरुद्धको अभियान थप आक्रामक बन्दै गएको छ। मंगलबार प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ गर्दै लागूऔषध कारोबारीमाथि कडा दबाब सिर्जना गरेको छ।

विशेष सूचनाका आधारमा निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ सिद्धरीया टोलका ३७ वर्षीय दिवेन्द्र बैठालाई करिब २ किलो ७ सय ५४ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।
त्यसैगरी, जीतपुरकै पहाडी टोलबाट २५ वर्षीय विदेशी ठाकुरलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दिवेन्द्र बैठामाथि इलाका प्रहरी कार्यालय जीतपुरमै राखेर अनुसन्धान भइरहेको छ भने विदेशी ठाकुरलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको छ।
प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाले इलाका प्रहरी कार्यालय जीतपुरको नेतृत्व सम्हालेयता लागूऔषधको बिक्री–वितरण, ओसारपसार र अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निरन्तर निगरानी तथा कारबाहीलाई तीव्र बनाएका छन्। पछिल्ला केही दिनमै भएका लगातार कारबाहीले लागूऔषध कारोबारीहरू त्रसित बनेका छन् भने अवैध कारोबारमा संलग्नहरू भागाभागको अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
स्थानीयवासीका अनुसार प्रहरीको सक्रिय अभियानपछि जीतपुर क्षेत्रमा लागूऔषध कारोबारमा उल्लेखनीय कमी आउन थालेको छ। प्रहरीको निरन्तर निगरानी र छापामार शैलीको कारबाहीले अवैध सञ्जालमाथि ठूलो दबाब परेको उनीहरूको विश्वास छ।
इलाका प्रहरी कार्यालय जीतपुरले लागूऔषधविरुद्धको अभियान अझ प्रभावकारी बनाइने स्पष्ट पार्दै, समाजमा युवालाई कुलतमा फसाउने तथा अवैध कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ। प्रहरीको यो अभियान आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने जनाइएको छ।