एमाले जीतपुरसिमरामा संगठन कस्दै : वडा–वडामा बैठक, सदस्यता नवीकरण र भूमिहीन व्यवस्थापनमा प्रतिनिधि चयन
मनाेज साह जितपुर बारा असार १६ गते: नेपाल कम्युनिष्ट पार्टी (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।

मंगलबार सिमरास्थित जिफन्ट कार्यालयमा बसेको नगर कमिटी बैठकले संगठन विस्तार, सदस्यता नवीकरण र स्थानीय तहसँग सम्बन्धित विषयमा निर्णय गर्दै पार्टी गतिविधिलाई तीव्र बनाउने संकेत दिएको हो।
बैठकले ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी रूपमा सञ्चालन गर्न आगामी असार २० गते उपमहानगरपालिकाका सबै वडामा अनिवार्य रूपमा वडा कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ। साथै असार २५ गतेभित्र सम्पूर्ण पार्टी सदस्यहरूको सदस्यता नवीकरण सम्पन्न गरिसक्ने निर्णय भएको नगर सचिव रवीन्द्रराज भण्डारीले जानकारी दिए।

त्यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकाले गठन गर्न लागेको भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिमा एमालेको तर्फबाट रमेश सापकोटालाई प्रतिनिधि चयन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ।
नगर अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्य तथा बारा इन्चार्ज अच्युत मैनाली प्रमुख अतिथि रहेका थिए। बैठकलाई सम्बोधन गर्दै मैनालीले पार्टीभित्र एकता, अनुशासन र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।

उनले पार्टीलाई कमजोर बनाउने प्रवृत्ति र गुटबन्दीलाई अन्त्य गर्दै पार्टीप्रति प्रतिबद्ध कार्यकर्तालाई संगठित गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
बैठकमा एमाले केन्द्रीय सदस्य सीता सुवेदी, मधेस प्रदेश सचिव मनोज पौडेल, प्रदेश सदस्य कमलेश झा, प्रदेश विभाग सदस्य दिनेश्वर ठाकुर, जिल्ला सचिवालय सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहित जिल्ला, नगर तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। नेताहरूले आगामी संगठन विस्तार, जनसम्पर्क अभियान र स्थानीय तहमा पार्टीको प्रभाव थप मजबुत बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।