मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको निधनप्रति जीतपुरसिमरामा शोक, बुधबार सबै विद्यालय बन्द

स्पर्श खबर जितपुर बारा असार १६ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७, जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार अन्सारीको असार १५ गते निधन भएको हो। उहाँको निधनले स्थानीय शिक्षा क्षेत्रले एक समर्पित शिक्षाकर्मी गुमाएको उल्लेख गर्दै उपमहानगरपालिकाले शैक्षिक उत्थान तथा मदरसाको विकासमा उहाँले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरेको जनाएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा जारी सूचनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
दिवंगत अन्सारीप्रति श्रद्धाञ्जली अर्पणस्वरूप असार १७ गते बुधबार जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा शोक बिदा रहने उपमहानगरपालिकाले जनाएको छ।