मनाेज शाह जितपुर बारा जेठ १५ गते:
बिरगंजमा हिन्दू राष्ट्रको बहस चर्कियो, संविधान संशोधनको माग गर्दै राष्ट्रिय एकता दलको गोष्ठी
वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय एकता दल वीरगन्जको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले वर्तमान संविधानले देशको मौलिक पहिचान र बहुसंख्यक जनभावनालाई समेट्न नसकेको आरोप लगाउँदै संविधान संशोधनमार्फत नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन्।
दलका पर्सा जिल्ला अध्यक्ष विकाऊ भण्डारी थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै नेताहरूले धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पहिचान जोगाउन हिन्दू राष्ट्रको अवधारणा आवश्यक रहेको दाबी गरे।
कार्यक्रममा अकलेश कुशवाहा, रामनाथ यादव, अवधेश साह, मनोज सिंह, देव बाबु प्रसाद कुर्मी, कृष्ण मोहन सहनी र रवीन्द्र यादव लगायतका वक्ताहरूले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै संविधान संशोधन अबको प्रमुख एजेण्डा बन्नुपर्ने धारणा राखेका थिए।
युवा नेता विवेक कुशवाहाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा राजनीतिक कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।