सरकारी विज्ञापनमा विभेदविरुद्ध बाराका पत्रकार आन्दोलित, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मनोज साह जितपुर बारा बैशाख १० गते:
सरकारी विज्ञापन वितरणमा देखिएको विभेदविरुद्ध बारा जिल्लाका पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाले तीनै तहका सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने सरकारी निर्णयप्रति कडा आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले उक्त निर्णयलाई स्पष्ट रूपमा विभेदकारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेको छ। उनीहरूले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्यमान्यताको विपरीत भएको ठहर गरेका छन्।
ज्ञापनपत्रमा मोफसलमा सञ्चालित सञ्चारगृहहरू यस निर्णयबाट गम्भीर आर्थिक संकटमा पर्ने र सयौं पत्रकारहरूको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ। विशेषगरी स्थानीय तहमा आधारित सञ्चारमाध्यमहरूको अस्तित्व नै संकटमा पर्ने भन्दै निर्णय तत्काल सच्याउन माग गरिएको छ।
केन्द्रीय सदस्य सिकेन्द्र पासवानसहित वरिष्ठ पत्रकारहरूको उपस्थितिमा बुझाइएको उक्त ज्ञापनपत्रमा सबै प्रकारका सञ्चारमाध्यमलाई समान रूपमा सरकारी विज्ञापन वितरण गर्नुपर्ने र निष्पक्ष तथा पारदर्शी नीति अवलम्बन गर्नुपर्ने माग गरिएको छ।
पत्रकारहरूले आफ्ना मागहरू बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्। उनीहरूको भनाइमा सञ्चारमाध्यममाथि गरिने कुनै पनि प्रकारको विभेद लोकतन्त्रका लागि घातक हुने भएकाले सरकार गम्भीर बन्नुपर्ने आवश्यकता रहेको छ।