१० वर्ष काम गरेको मजदुरलाई निकालियो : क्लासिक इन्डस्ट्रिज प्रालिविरुद्ध श्रम शोषणको आरोप

१० वर्ष काम गरेको मजदुरलाई निकालियो : क्लासिक इन्डस्ट्रिज प्रालिविरुद्ध श्रम शोषणको आरोप
मनोज शाह जितपुर बारा फागुन १३ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्लासिक इन्डस्ट्रिज प्रालि विरुद्ध मजदुर शोषण गरेको गम्भीर आरोप लागेको छ।

वर्षौँदेखि काम गर्दै आएका मजदुरहरूलाई उद्योगले अचानक निकालिदिएको भन्दै पीडितहरू पत्रकार सामु आएका छन्।
उद्योगमा करिब १० वर्षदेखि कार्यरत सपना तामाङलाई उद्योग प्रशासनले अचानक कामबाट हटाएको बताइएको छ। पीडित तामाङले भावुक हुँदै भनिन्, “मेरो आधा जिन्दगी यही उद्योगमा काम गरेर बित्यो, अब म कहाँ जाऊँ ?”


उनका अनुसार नेपाल सरकारको श्रम ऐन विपरीत कम तलबमा लामो समयसम्म काम गराइएको थियो। न्यून पारिश्रमिकमै काम गर्दासमेत अन्ततः कुनै जानकारी वा कारण बिना नै निकालिएको उनले गुनासो गरिन्।
पीडित तामाङले चुनाव नजिकिँदै गर्दा नेताहरूले श्रमिक अधिकारको कुरा गरे पनि वास्तविक समस्यामा कोही नबोल्ने आरोप लगाइन्। “चुनावको मुखमा नेताहरूले ठूलो भाषण गर्छन्, तर मजदुर निकालिँदा उद्योगको विरोधमा बोल्ने आँट कसैले गर्दैन,” उनले भनिन्।
अर्की मजदुर कान्छी माया जमकटेलले पनि आफूहरू वर्षौँदेखि इमान्दारीपूर्वक काम गर्दै आएको बताइन्। “हामीले उद्योगलाई आफ्नै जस्तो सम्झेर काम गर्‍यौँ। कुनै अवरोध गरेका छैनौँ, गल्ती पनि गरेका छैनौँ। तर पनि आज निकालियो,” उनले दुखेसो पोखिन्।
यता उद्योग प्रशासनतर्फ प्रतिक्रिया लिन खोज्दा प्रशासन प्रमुख मुना साहले भने सपना तामाङलाई आफूले नचिनेको प्रतिक्रिया दिएकी छन्।
घटनापछि श्रमिकहरू न्यायको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। श्रम ऐन विपरीत मजदुरमाथि अन्याय भएको आरोपबीच स्थानीय तह र श्रम कार्यालयको भूमिका अब महत्वपूर्ण हुने देखिएको छ।