घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दै

घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दै
मनोज शाह जितपुर बारा माघ १६ गते
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बारा जिल्ला क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री किसान श्रेष्ठ घरदैलो अभियानमा सक्रिय देखिएका छन्। चुरेमाईदेखि घोडा–घोडासहन, पर्सौनी, विश्रामपुर गाउँपालिका तथा जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रसम्म पुगेर उहाँले जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
स्थानीय पर्सौनीका सुरेश चौधरीले किसान श्रेष्ठप्रति विश्वास व्यक्त गर्दै भने, “हामी किसान हौँ। नहरमा पानी सुकेको बेला पनि उहाँले आफ्नै लगानीमा सिँचाइको व्यवस्था गर्नुभयो। हाम्रो लागि उहाँ भगवानजस्तै हुनुहुन्छ।”
पूर्वमन्त्री किसान श्रेष्ठले गाउँ–गाउँ, टोल–टोलमा विकासको लहर चलाएको स्थानीयहरूको भनाइ छ। किसानका लागि सिँचाइ व्यवस्था, विद्यालयमा बजेट, आर्यघाट निर्माण तथा व्यवस्थापन जस्ता कामहरू उहाँको कार्यकालमा अघि बढेको बताइन्छ।
स्थानीय विश्रामपुरका राम महतोका अनुसार मधेसी, मुस्लिम, दलितलगायत सबै समुदायको हक–अधिकार र सम्मानलाई समान रूपमा अगाडि बढाउने नेता किसान श्रेष्ठ नै हुन्। यही कारण बारा–४ मा यसपटक पनि एमालेको जित प्रबल सम्भावना रहेको स्थानीयको विश्वास छ।