पर्सागढी–३ मा बाघको आक्रमण, एक महिला गम्भीर घाइते

पर्सागढी–३ मा बाघको आक्रमण, एक महिला गम्भीर घाइते

स्पर्श खबर जितपुर बारा मंसिर १५ गते:

पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा एक महिलामाथि बाघले आक्रमण गरेको छ। झबराहा स्थित एस.एस. पानी उद्योग छेउको जंगलमा घाँस–दाउरा टिप्न गएकी अन्दाजी ५५ वर्षीया शान्तीमाया श्रेष्ठमाथि आइतबार बिहान एक्कासी बाघले आक्रमण गरेको स्थानीयहरूले बताएका छन्।

आक्रमणबाट श्रेष्ठको आँखा, मुख र घाँटीको भागमा गम्भीर चोट लागेको छ। घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि बिरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगिएको छ, जहाँ उपचार भइरहेको पर्सागढी कार्यपालिका सदस्य सीता लामा र स्थानीय समाजसेवी विक्रम कार्कीले जानकारी दिएका छन्।

घटनाको खबर पाएलगत्तै सीता लामा मेडिकल कलेज पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ। स्थानीय स्तरमा वन्यजन्तु सुरक्षा तथा मानव–वन्यजन्तु द्वन्द्व रोकथामबारे थप ध्यान दिनुपर्ने जनप्रतिनिधि र स्थानीयवासीको माग रहेको छ।