जितपुर बजारमा ट्राफिकको कमाउ धन्दा, पार्किङ अस्तव्यस्त- व्यवसायी त्रासमा

जितपुर बजारमा ट्राफिकको ‘कमाउ धन्दा’, पार्किङ अस्तव्यस्त — व्यवसायी त्रासमा

स्पर्श खबर जितपुर बारा मंसिर ८ गते:

बारा जिल्लाको जितपुर बजारमा ट्राफिक व्यवस्थापन दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको स्थानीयहरू बताउँछन्। सडकको छेउ–छाउ सबै ठाउँमा मनपरी पार्किङ, सिक्स–लाइन सडकमै गाडीको लाम लाग्ने, जेब्रा क्रसिङमै सवारी राख्ने जस्ता गतिविधिले बजारमा चरम अव्यवस्था सिर्जना भएको छ।

जितपुर ट्राफिक पोस्टका प्रमुख सञ्जयकुमार यादवको नेतृत्वमा रहेको टोली बजारभित्र आवश्यक समयमा नदेखिनु र सुनसान तथा ‘कमाइ हुने’ स्थानमा मात्र उपस्थिति जनाइने गरेको व्यापारीहरूको आरोप छ।

व्यवसायी राम गुप्ताका अनुसार, “ट्राफिकको कमजोरीले व्यवसायीहरू निकै पीडित छन्। बजारमा जहाँ हेरे पनि रोडमै गाडी लागेका हुन्छन्, अटो, इ–रिक्सा र म्याक्सिमोहरू जथाभावी चलेका छन्। तर चौक–चौकमा ट्राफिक नै भेटिँदैन।”

स्थानीय चालक र व्यवसायीहरूका भनाइअनुसार, केही ट्राफिकले लोकल सवारीसँग महिनाबरि २,००० देखि ३,००० रुपैयाँसम्म उठाउने गरेको आरोप पनि छ। आफ्नो नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, “सडकमा अवैध पार्किङ र भीडभाड बढिरहँदा ट्राफिकले नदेखेझैँ गर्छ। तर सुनसान स्थानमा भने रोकथामको नाममा उठाउने काम भइरहेको देखिन्छ।”

सडकमै गाडी थुप्रिँदा, व्यवसायी र सर्वसाधारणलाई दैनिक रुपमा यात्रा गर्नै कठिन भएको स्थानीयहरूको गुनासो छ।

स्थानीयवासी र व्यवसायीहरूले जितपुर बजारमा पारदर्शी, नियमित र प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।