गणतन्त्रको कल्प अन्य कुनै पनि तन्त्र हुन नसक्ने दाबी: गृहमन्त्री लेखक

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले अहिले जनताको केही चिन्ता र आक्रोशलाई देखाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भएको बताउँदै लोकतन्त्र जबाफदेहिता र उत्तरदायित्वपूर्ण शासन प्रणाली भएको बताएका छन् ।

तराई यातायात व्यवसायी सङ्घको १८ औँ साधारण सभाको उद्घाटन शनिबार बाराको सिमरामा गर्नुहुँदै गृहमन्त्री लेखकले गल्ती गर्ने मन्त्री,प्रधानमन्त्रीलाई समेत लोकतन्त्रमा कारबाही हुने तर राजतन्त्रमा गल्ती गर्ने राजालाई औला ठड्याउँदा कारबाही र जेलनेल भोग्नु परेको इतिहास कायम रहेको सुनाउँनुभयो ।

उहाँले १८ बर्ष अगाडी नेपाली जनताले फालेको राजतन्त्र फर्काउन भन्दै राजतन्त्रको बारेमा कुनै जानकारी नै नभएका किशोर किशोरीलाई प्रयोग गरी भड्काउने काम भएको प्रति खेद व्यक्त गर्नुभयो ।

गणतन्त्रको कल्प अन्य कुनै पनि तन्त्र हुन नसक्ने दाबी गर्नुभएको छ ।जनतामा निहित सार्वभौम सत्तामाथि कसैले प्रहार गर्छ भने त्यस्तालाई कानुनको दायरामा ल्याईने चेतावनी दिनुभएको छ ।

यसको उपयोग सर्वसाधारण जनताले गर्न पाए मात्र लोकतन्त्र फस्टाउन सक्ने दाबी गर्नुभयो । उहाँले सङ्घीयता र समावेशीता कायम गर्न मधेसको सबैभन्दा ठुलो योगदान रहेको चर्चा गर्दै वर्तमान सरकार निजी क्षेत्र सँग मिलेर मुलुकको अर्थतन्त्र मजबुत बनाउँदै समृद्धिको यात्रामा अगाडी बढिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले पछिल्लो समय सरकारले केही महत्त्वपूर्ण अध्यादेश जारी गरेको कुरा उल्लेख गर्दै देशमा औद्योगिक तथा व्यबसायीक वातावरण सृजना गर्ने र मुलुकको समृद्धि र विकास सँगै सुशासनलाई कायम गर्न अध्यादेश महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुने दाबी गर्नुभयो ।

उहाँले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ भन्नुहुँदै यातायात क्षेत्र निजी क्षेत्रको सबैभन्दा धेरै लगानी र रोजगारी सृजना गर्ने क्षेत्र भएको हुँदा मुलुकको आर्थिक विकाश सँग यातायात क्षेत्र प्रत्यक्ष रुपमा जोडिएको बताउनुभयो ।

उहाँले हाम्रो संविधानले ३ खम्बे अर्थनीतिको अङ्गीकार गरेको छ भन्नुहुँदै सार्वजनिक निजी र सहकारीको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने र राष्ट्रिय अर्थतन्त्र पनि मजबुत बन्ने बताउनुभयो ।