पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा


वीरगन्ज,११असोजःनियमित मर्मत सम्भार हुन नसक्दा पर्सा–बारामा रहेका २९ वटा डिप ट्युबेलमध्ये २५ वटा बन्द भएका छन् ।नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जको मातहत रहेका २९ वटा डिप ट्युबेलमध्ये हाल बाराको कलैया उपमहानगरपालिकामा २, बाराकै प्रसौनी गाउँपालिकामा १ र पर्साको वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा १ गरी ४ वटा मात्र जसोतसो संचामा छन् ।

करिब ५ दशकअघि नेपाल सरकारद्वारा निर्मित यी डिप ट्युबेल पूर्ण क्षमतामा संचालन हुँदा दुवै जिल्लाका गरी २ हजार ७ सय हेक्टर खेतीयोग्य जग्गा सिंचित हुने गरेको थियो । बिस्तारै ट्युबेल पुराना हुँदै गएको र तिनको नियमित मर्मत सम्भार हुन नसकेपछि २९ मध्ये २५ वटा ट्युबेल बन्द हुन पुगेका हुन् ।

नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले पछिल्ला केही वर्षयता पर्सा र बाराका मध्य तथा दक्षिणी भेगका किसानले सिंचाइको चरम अभाव भोग्दै आएकामा बन्द भएका डिप ट्युबेल संचालन हुन सके त्यसले दुवै जिल्लाका किसानलाई ठूलो राहत हुने बताए । ‘दुवै जिल्लाका अधिकांश किसानले हाल रोपाइका लागि आकाशे वर्षाकै भर पर्नु परेको छ,’ उनले भने, ‘यस्तो स्थितिमा बन्द भएका डिप ट्युबेलहरू पुनः संचालन गर्न सकिए त्यसले ठूलो संख्यामा किसान लाभान्वित हुने थिए ।’

नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जका इन्जिनियर एवं सूचना अधिकारी सुरेशप्रसाद साहले भने दुई दर्जन बढी डिप ट्युबेलहरू बन्द हुनु कार्यालयका लागि पनि चिन्ताको विषय भएको बताए। उनका अनुसार,ती ट्युबेल सन् १९६८ देखि १९८९ को अवधिमा निर्माण भएकाले प्रायः सबै जीर्ण भइसकेका छन् । उनले यस्तो ट्युबेलको आयु अधिकतम २५ देखि ३० वर्ष मात्र हुने गरेपनि अधिकांश ट्युबेल आयुभन्दा डेढ गुना बढी पुराना भइसकेकाले तिनलाई नियमित संचालन गर्न समस्या भएको बताए ।

ती ट्युबेलबाट ठूलो संख्यामा किसान लाभान्वित हुँदै आएकामा पछिल्लो केही वर्षयता बजेट तथा जनशक्ति अभावका कारण कार्यालयले बिग्रिएका ट्युबेलको नियमित मर्मत सम्भार गर्न नसकेको उनले बताए । सिंचाइ विभागले बन्द भएका डिप ट्युबेल पुनः संचालनका लागि अघिल्लो आर्थिक वर्षमै डिपीआर तयार गरिसकेको उनले बताए ।

‘अब विभागबाटै यी ट्युबेलको मर्मत सम्भार तथा पुनः संचालनका लागि टेन्डर आह्वान हुनेछ,’ उनले भने, ‘त्यसपछि बजेट व्यवस्थापन गरी नयाँ ट्युबेल निर्माण हुने छन् ।’ शंकर अचार्य/कान्तिपुर