महावीर पुनले पर्सामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने
रन्जित कुमार चाैधरी फागुन २० गते :
नेपालका दुर्गम क्षेत्रहरूमा ताररहित इन्टरनेट प्रविधिको पहुँच पुर्याएर आफ्नो अद्वितीय पहिचान बनाउन सफल भएका महामानव, महान् वैज्ञानिक, समाजसेवी एवम् उदार हृदयका धनी महावीर पुन अहिले निकै चर्चाको शिखरमा छन् ।
पर्साको वीरगन्जमा रहेको कृषि औजार कारखाना वर्षौंदेखि बन्द अवस्थामा छ । यही कृषि औजार कारखानाको पुनर्स्थापना तथा संचालनका लागि उनले कयौं मन्त्रालयको ढोका ढक्ढक्याए, प्रधानमन्त्रीसमक्ष पनि हारगुहार गरे तर बजेट अभावको कारण देखाउँदै सबैतिरबाट निराशाजनक प्रतिक्रिया हात लाग्यो । त्यसपछि खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ वीरगन्ज कृषि औजार कारखाना लिमिटेड पुनः संचालन गर्ने आफ्नो दृढ अठोट पूरा गर्ने हेतुले रकम सङ्कलन गर्न उनी एकल अभियानमा लागेका छन् ।
‘रामोन म्यागासेसे’ पुरस्कार प्राप्त गर्न सफल प्रतिभाशाली व्यक्तित्वका धनी महावीर पुनले ‘महावीर पुन सम्झना,सपना र अविरल यात्रा’ नामक १८ शीर्षकमा रहेको ३०६ पेजमा संलग्न आत्मकथाको पुस्तक बेच्दै वीरगन्जमा रहेको कृषि औजार कारखानाको लागि रकम संकलन गर्दै छन् ।
सूचना तथा प्रविधिमार्फत देश विकासका अनेकौं सम्भावनाको खोजी गर्न र नवीनतम् आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था ‘राष्ट्रिय आविष्कार केन्द्र’ को स्थापना गरेर प्रविधिको खोजी र अनुसन्धानमा तल्लीन रहँदै आएका महावीर पुनले नेपालका विभिन्न ठाउँमा पुग्दै आफ्नो आत्मकथा समेटिएको पुस्तक बेच्दै छन् ।
विज्ञान र प्रविधिको उन्नयनमा महत्वपूर्ण योगदान दिएका पुनले वीरगन्जमा रहेको कृषि औजार कारखाना पुन: संचालनमा ल्याउने सपना पूरा गरे भने उनको यस सफलताले पर्सामा युगान्तकारी परिवर्तन ल्याउने छ साथै यस क्षेत्रकै सम्पूर्ण जनताको मुहारमा खुशी छाउने छ । कृषि औजार कारखानाको संचालनले यस क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने पक्का छ ।
सन् १९५५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मिएका महावीर पुनले सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका छन् । देश र जनताको लागि केही गर्नुपर्छ भन्ने असल सोच र महान् चिन्तन भएका महावीर पुनले पर्साबासीका सन्तानका उज्ज्वल भविष्य कृषि औजार कारखानासँग जोडिएको कुरा बताउँदै यो कारखाना देशकै लागि बलियो मेरुदण्ड साबित हुने जनाएका छन् ।
कृषि औजार उत्पादन गर्ने महान् लक्ष्यका साथ अगाडि बढिरहेका महावीर पुनले कृषि औजार कारखानाको पुनर्निर्माण तथा संचालनका लागि होस्टेमा हैंसे गर्न सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह गरिरहेका छन् । उनको यस प्रयासका लागि सम्मानका साथ हामी पर्साबासीले पनि उनको यस अभियानमा सहयोग गर्नु आवश्यक छ ।
लेखक :- रन्जित कुमार चौधरी