चितवन, पुस ४-
भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास गरिएको छ । वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमद्वारा सञ्चालित समावेशी गुरुकुलम् भवनको बाग्मती प्रदेश सांसद बिनु रायमाझी पौडेलले शिलान्यास गरेकी हुन् ।
गुरुकुलको संयोजकसमेत रहेकी प्रदेश सांसद पौडेलले भवन निर्माण भएसँगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताइन् । उनले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउँदै विश्वको प्रथम भाषा संस्कृतको संरक्षणमा समावेशी गुरुकुल हुन सक्ने धारणा राखिन् ।
शिलान्यास कार्यक्रममा परिषद्का प्रमुख संरक्षक योगी श्रृषनाथ , कार्यबाहक अध्यक्ष पूर्णबहादुर श्रेष्ठ ,पूर्वकार्यबाहक अध्यक्ष ऋषिराज पाण्डे , देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष बद्री अधिकारीलगायतले वर्तमानमा गुरुकुलीय शिक्षाको आवश्यकताबारे आफ्नो धारणा राखेका छन् ।
भवन शिलान्यासको पूजा गुरुकुलका प्राचार्य माधव पौडेलले गरेका छन् भने गुरुकुलका बटुकहरुले मंगलाचरणसहित स्वस्ती वाचन गरे । योगी नरहरिनाथ संस्कृत गुरुकुलम प्रकल्प मार्फत् विसं २०७५ सालमा सबैका लागि संस्कृत शिक्षा भन्ने अभियान का साथ समावेशी गुरुकुल सञ्चालन गरिएको हो । यहाँ अहिले ४२ जना बटुकहरु कक्षा १० अध्ययन गरिरहेका छन् । आवासीय सुविधाका साथ अध्ययन गराइने गुरुकुलको लागि साढे छ करोडलागतको नयाँ भवन निर्माण गरिन लागिएको बताइएको छ ।