जनताको कार्यक्रममा वडा सदस्य गायब, वडाध्यक्ष एक्लै जनताको घेराबन्दीमा!
स्पर्श खबर जितपुर बारा मंसिर ३ गते:
जनताको समस्या सुन्ने र जनप्रतिनिधिलाई जवाफदेही बनाउने उद्देश्यले स्पर्श खबरले आयोजना गरेको ‘जनप्रतिनिधिसँग जनताको कार्यक्रम’ जीतपुरसिमरा उपमहानगरपालिका–८ मा सम्पन्न भएको छ। तर कार्यक्रममा वडा सदस्यहरूको अनुपस्थिति देखिएपछि वडाध्यक्ष एक्लै जनताका प्रश्न सामना गर्न बाध्य भएका छन्।

जनताको गुनासो, विकास निर्माणका समस्या र वडाको सेवा प्रवाहबारे प्रत्यक्ष छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या खुलेर राखेका थिए। तर जनताका प्रश्न सुन्न र समाधानका लागि प्रतिबद्धता जनाउनुपर्ने वडा सदस्यहरू नै कार्यक्रममा उपस्थित नहुँदा उनीहरूको जनताप्रतिको जवाफदेहितामाथि प्रश्न उठेको छ।
कार्यक्रममा वडाध्यक्षले एक्लै स्थानीयका प्रश्न र गुनासोको सामना गर्नुपरेको दृश्यले जनप्रतिनिधिहरूको सामूहिक जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

निर्वाचनका बेला घरदैलोमा पुगेर मत माग्ने जनप्रतिनिधिहरू जनताका समस्या सुन्ने कार्यक्रममा किन अनुपस्थित भए? के जनताको समस्या वडा अध्यक्षको मात्रै जिम्मेवारी हो? वडा सदस्यहरूको भूमिका के हो?
स्पर्श खबरको यो पहल केवल कार्यक्रम आयोजना गर्नुमा सीमित छैन। जनताको आवाज जनप्रतिनिधिसम्म पुर्याउने र निर्वाचित प्रतिनिधिलाई जनताप्रति जवाफदेही बनाउने अभियान हो।जनताको मतबाट पदमा पुग्ने, तर जनताको प्रश्न सामना गर्न कार्यक्रममा नआउने प्रवृत्ति अब स्वीकार्य हुन सक्दैन। जनताको प्रश्नको जवाफ दिनु जनप्रतिनिधिको जिम्मेवारी हो, विकल्प होइन।