एमाले राष्ट्रिय भेला आज समापन हुँदै, ओली–विद्याको सम्बोधनले राजनीतिक वृत्तमा चासो
काठमाडौं मंसिर ३ गते :
नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन हुँदैछ। भेलाको अन्तिम दिन पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलामा उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिनेछन्। वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ भने अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्नेछन्।

शीर्ष नेताहरूको सम्बोधनपछि राष्ट्रिय भेलाको समापन गरिनेछ। त्यसलगत्तै अपराह्न ३ बजे सोही स्थानमा एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिएका छन्।

बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव, पार्टीको आगामी सांगठनिक रणनीति तथा राजनीतिक योजनाबारे छलफल हुने जनाइएको छ।