कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, बारा–४ ‘ख’ मा वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णय
स्पर्श खबर जितपुर असाेज १ गते:
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गत वडा अधिवेशन यही ३ र ४ गते उत्साहपूर्वक सम्पन्न गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारी तथा संगठनलाई तल्लो तहबाटै मजबुत बनाउने उद्देश्यले परवानीपुर गाउँपालिका–५, नौतन टोलमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको भेला सम्पन्न भएको हो।
कार्यक्रममा क्षेत्रअन्तर्गतका चारवटै गाउँपालिकाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलामा वडा तहदेखि नै संगठनलाई सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी महाधिवेशन सफल बनाउने विषयमा छलफल भएको जनाइएको छ।कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य लालबाबु सिंह रहेका थिए। नेपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए। प्रसौनी गाउँपालिका नेपाली कांग्रेसका सभापति हरि राउत पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ ‘ख’ का सभापति लोकेश सिंहले गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला उपसभापति अमेरिलाल पाल, फेटा गाउँपालिका सभापति मनोज शाह, परवानीपुर गाउँपालिकाका कार्यबाहक सभापति लोहासिंह पटेल, युवा नेता दिनेश शाह, विजय गुप्तालगायतको उपस्थिति रहेको थियो।
भेलामा वडा अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गर्दै पार्टीको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताइएको छ। कांग्रेसको आगामी महाधिवेशन प्रक्रियालाई तल्लो तहबाटै मजबुत बनाउन वडा अधिवेशनलाई महत्वपूर्ण रूपमा लिइएको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि अनिलकुमार साहले बताएका छन्।