नगरपालिकाको ‘राजधानी’ जितपुर अँध्यारोमा : हाइवेको बत्ती नबल्दा दुर्घटनाको जोखिम, जिम्मेवार को ?

नगरपालिकाको ‘राजधानी’ जितपुर अँध्यारोमा : हाइवेको बत्ती नबल्दा दुर्घटनाको जोखिम, जिम्मेवार को ?
मनाेज शाह जितपुर बारा भदौ २१ गते:

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजार केही महिनादेखि हाइवेको सडकबत्ती नबल्दा अँध्यारोमा डुबेको छ। उपमहानगरपालिकाको प्रमुख बजार तथा प्रशासनिक केन्द्रकै रूपमा रहेको जितपुरको मुख्य हाइवेमै बत्ती नबल्दा स्थानीय, व्यापारी र यात्रुहरू जोखिममा परेका छन्।


स्थानीयका अनुसार मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी तथा अन्य जनप्रतिनिधिहरू दैनिक यही बाटो भएर ओहोरदोहोर गर्छन्। तर महिनौँदेखि सडकबत्ती बन्द हुँदा पनि समस्या समाधानका लागि प्रभावकारी पहल भएको देखिँदैन।
हालै उपमहानगरपालिकाले हाइवेलाई झिलिमिली बनाउन नयाँ बत्ती जडान गरे पनि ती बत्तीसमेत नबलेको स्थानीयको गुनासो छ। “बत्ती जडान गरियो, तर बाल्न किन सकिएन?” भन्ने प्रश्न उठ्न थालेको छ। यसमा प्राविधिक समस्या, मर्मतसम्भारको कमजोरी वा अन्य कारण के हो भन्नेबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने स्थानीयको माग छ।
स्थानीय सन्तोष शाह भन्छन्, “यत्रो ठूलो सहर र बजार जितपुर हो, तर हाइवेमै बत्ती बल्दैन। चारैतिर अँध्यारो हुन्छ। यस्तो अवस्थामा बाहिरका मानिस कसरी जितपुर बजारमा आउँछन्?”
स्थानीय तथा व्यापारीहरूले सडकबत्ती नबल्दा रातिको समयमा दुर्घटनाको जोखिम बढेको बताएका छन्। उनीहरू प्रश्न गर्छन्—जितपुरको हाइवेको बत्ती सञ्चालन गर्ने जिम्मेवारी कसको हो? मेयर–उपमेयरको, उपमहानगरपालिकाको कि सडक डिभिजनको?
नाममा विकास र झिलिमिलीको योजना मात्रै होइन, जनताको सुरक्षाका लागि बत्ती बाल्न पनि जिम्मेवार निकायले तत्काल जवाफ दिनुपर्छ। जितपुरलाई अँध्यारोमा राखेर ‘विकास’को नारा लगाउनुको कुनै अर्थ नहुने स्थानीयको भनाइ छ।