भोटेकोशी बाढीको शोकमा डुमरवाना विकास मञ्चद्वारा श्रीकृष्ण जन्माष्टमीका उत्सवमूलक कार्यक्रम स्थगित

भोटेकोशी बाढीको शोकमा डुमरवाना विकास मञ्चद्वारा श्रीकृष्ण जन्माष्टमीका उत्सवमूलक कार्यक्रम स्थगित
मनाेज शाह जितपुर बारा भदौ १५ गते:

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै डुमरवाना विकास मञ्चले आगामी श्रीकृष्ण जन्माष्टमीका सम्पूर्ण उत्सवमूलक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
मञ्चले भदौ १५ गते जारी गरेको सूचनामार्फत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुगेको जनाएको छ।

विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको र अझै पनि धेरै नागरिक सम्पर्कविहीन रहेको अवस्थामा उत्सव, जात्रा तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने मञ्चको निष्कर्ष छ।
डुमरवाना विकास मञ्चले यसअघि श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न धार्मिक, सांस्कृतिक तथा उत्सवमूलक कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो। तर विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै यस वर्षका सम्पूर्ण उत्सवमूलक कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ।
मञ्चले हाल पनि वर्षा जारी रहेकाले भोटेकोशी नदीको जलस्तर बढ्न सक्ने र थप बाढीको जोखिम कायम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोलानालाको आसपासमा अनावश्यक आवतजावत नगर्न तथा आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।
विपद्को यस कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मञ्चले आफ्ना सदस्य तथा सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न आग्रह गरेको छ।
डुमरवाना विकास मञ्चले भोटेकोशी बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन नागरिकहरूको शीघ्र खोजी तथा उद्धार होस् भन्ने कामनासमेत गरेको छ।
विपद्को पीडामा साथ र ऐक्यबद्धता जनाउँदै डुमरवाना विकास मञ्चले यस वर्षको श्रीकृष्ण जन्माष्टमी उत्सव स्थगित गरेको हो।